काठमाडौं – प्रजनन उमेरमा स्वस्थ महिलामा हुने प्राकृतिक चक्र नै महिनावारी हो । तर
नेपाली समाजमा अझै पनि विभिन्न धार्मिक र सामाजिक परिवेशका कारणले यसलाई रोगकै
रूपमा चित्रण गरिएको पाइन्छ । महिनावारी भएका महिलालाई फोहोरी महिलाको रूपमा विभेद
गरेर विभिन्न काममा समावेश नगर्ने चलन पनि यहाँ अझै व्याप्त छ । ज्ञानको अभाव र
अन्धविश्वासले जकडिएको मानसिकताले यस्तो भएको हो । आजको पुस्तामा यो सोच विस्तारै
हराउँदै छ । महिनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा स्विकार्ने परिपाटी युवा
पुस्तामा बढ्दै गएको छ ।
महिनावारी हुँदा ध्यान दिनुपर्ने
कुराहरू
* व्यक्तिगत सरसफाइमा
विशेष ध्यान दिनुपर्ने हुन्छ। सरसफाइको कमीले यौनांग र पाठेघरमा विभिन्न रोगको
संक्रमण भई भोलिका दिनमा यो रोगको रूपमा परिवर्तन हुन सक्छ ।
* महिनावारीको बेला
यो फोहोर रगत हो भन्दै महिलालाई टाढा राखिन्छ। तर यस्तो मानसिकता त्याग्नुपर्छ ।
पाठेघरको भित्री पत्र (इन्डोमेट्रियम लेयर) मा हुने परिवर्तनले रक्तस्रावको रूपमा
रगत बाहिर निस्कन्छ। यसलाई सामान्य रूपमा लिएर त्यसैअनुरूप आफ्नो दैनिक कार्यमा
सक्रिय हुनुपर्छ ।
* बजारमा धेरै
किसिमका स्यानिटरी प्याड पाइए पनि महिलाका सामाजिक र आर्थिक कारणले गर्दा सबैले
प्याड प्रयोग गर्दैनन् । केहीले आफ्नै घरमा भएका कपडा प्रयोग गर्छन् । कपडा सफा
नभए रोगको संक्रमण हुन सक्छ ।
* कपडा सकेसम्म कटनको
सेतो र हल्का रंगका कपडा प्रयोग गर्नुपर्छ। यस्तो कपडामा रगतको दाग देखिने हुनाले
राम्रोसँग धुनुपर्छ ।
* घरका पुरुषले
देख्लान् भनेर कपडालाई सकेसम्म कसैले नदेख्ने अँध्यारो ठाउँमा सुकाउने गरिन्छ,
यसो गर्नु हुँदैन । कपडालाई सधैं घाममा सुकाए रोगका कीटाणु मरेर
संक्रमण हुनबाट जोगाउँछ ।
* स्यानिटरी प्याड
प्रयोग गरेर यसलाई धेरै लामो समयसम्म लगाइराख्नु हुँदैन। स्कुल, कलेज, अफिसमा महिलामैत्री शौचालय छ भने करिब ४
घन्टाको अन्तरालमा प्याड परिवर्तन गरिरहनुपर्छ । चिसो र भिजेको प्याड लगाइरहँदा
यसले हाम्रो ध्यान त्यसैतर्फ केन्द्रित गरिरहने हुनाले काममा ध्यान दिन सकिँदैन ।
अर्कोतर्फ लामो समय भिजेको प्याड लगाउँदा त्यसमा कीटाणुले सप्रने मौका पाउँछ ।
* पहिले विदेशतिर
मात्रै पाइने मेन्स्ट्रयल कप अहिले नेपालमा पनि उपलब्ध छ। तर हाम्रो देशको
परिप्रेक्ष्यमा अहिले नै यसको प्रयोग गर्नु त्यति सुरक्षित नदेखिएला । योनीभित्र
नै प्रयोग गरिने यो कपलाई राख्न र निकाल्न सफा हातको प्रयोग गर्नुपर्ने हुनाले
यसको प्रयोग त्यति सुरक्षित मानिन्न । त्यसमा पनि अविवाहित युवतीले त्यसलाई राख्दा
योनीमा संक्रमण भई रोग निम्त्याउने खतरा बढ्छ ।
* पाठेघरको
अण्डाशयबाट उत्पादन हुने हर्मनको समस्याले गर्दा रगत बगिरहने समस्या पर्न सक्छ ।
तर कतिपय युवतीले लाज र डरका कारणले आफ्ना अभिभावकलाई समेत यो भन्दैनन् । पछि
डाक्टरकहाँ पुगुन्जेल रगतको निकै अभाव भएर एनिमियासम्म भइसकेको हुन सक्छ ।
बिरामीलाई रगत नै दिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले थोरै रगत बगिरहेको छ भने पनि
समस्यालाई लुकाउनु हुँदैन, चिकित्सकको सल्लाह लिएर उपचार
गर्नुपर्छ ।
* महिनावारी हुँदा
सन्तुलित आहारमा विशेष ध्यान दिनुपर्छ । पोषणयुक्त खाना, मन
तातो र झोलिलो खानेकुरा खानुपर्छ । पानी र फलफूल पनि प्रशस्तै खानुपर्छ ।
* स्कुल, कलेज जान सक्दिनँ कि भन्ने मानसिकताले पनि सक्रिय जीवनशैलीमा बाधा पुग्न
सक्छ। त्यसैले स्वस्थ आहार र सरसफाइमा ध्यान दिएर सक्रिय हुनु जरुरी हुन्छ।
* महिनावारी हुँदा
हल्का पेट र कम्मर दुख्न सक्छ । यसो हुँदा तातोपानीले सेक्ने र मनतातो झोलिलो
खानेकुरा खानुपर्छ । धेरै नै दुखेको खण्डमा चिकित्सकको सल्लाहमा सामान्य नदुख्ने
औषधि खान सकिन्छ ।
* प्राय महिनावारी २८
दिनको चक्र हुन्छ । कति दिनको फरकमा आफ्नो महिनावारी हुन्छ भन्ने याद गर्नुपर्छ ।
२१ देखि ३५ दिनसम्मको चक्रलाई ठीकै मानिन्छ । यो अगाडि वा पछाडि भएमा समस्या मानेर
जँचाउनु जरुरी हुन्छ ।
* अण्डाशयबाट हर्मन
उत्पादन हुने कुरामा समस्या देखापर्ने, थाइराइडले गर्दा वा
पाठेघरको समस्याका कारणले पनि महिनावारी गडबडी हुन सक्ने हुनाले यस्तो अवस्थामा
पनि चिकित्सकलाई देखाइहाल्नु पर्छ ।
पहिलो महिनावारीमा के गर्ने ?
* किशोरावस्थामा
पुगेका छोरीहरूलाई विद्यालय र परिवारमा नै महिनावारी शिक्षा दिनु जरुरी हुन्छ ।
* महिनावारी हुनु
अगाडि नै महिनावारी चक्र यो हो, यो हुनु भनेको स्वस्थ
महिलाको लक्षण हो भनेर घरका आमा र दिदीहरूले सिकाउने र यसै विषयमा छलफल गर्नुपर्छ
।
* अपर्झट महिनावारीमा
रगत देख्दा डराउने र आत्तिन सक्ने भएकाले यसमा पनि राम्रोसँग सम्झाउनु, बुझाउनु पर्छ ।
* अण्डाशयको विकास
नभएको अवस्थामा थोरै मात्रै रगत देखा पर्न सक्छ। यसमा चिन्ता लिनु पर्दैन ।
* पहिलो महिनावारीपछि
अर्को महिनावारी हुन दुई तीन महिनादेखि वर्ष दिनसम्म पनि लाग्न सक्छ। यसमा पनि
आत्तिनु पर्दैन । तर वर्षौं महिनावारी भएन र शरीरमा अवस्थपनका केही लक्षण देखिन
थाले चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ ।
* अरूले जस्तै सरसफाइ
र खानपिनमा ध्यान पुर्याउनु आवश्यक छ ।
महिनावारी गडबडी किन हुन्छ ?
- सामान्य अवस्थाको महिनावारी २१ देखि
३५ दिनको बीचमा हुनेगर्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्न सकिन्छ ।
- महिनावारी सुरु हुँदा कुनै
किशोरीलाई १–२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर
बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ ।
- विभिन्न कारणले महिनावारी गडबडी हुने गर्छ । महिनावारीको गडबडी
मुख्यतः हार्माेनल कारणसँग जोडिएको हुन्छ । ओभरीमा ‘पोलिस्टिक’
हर्माेन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता
देखिन सक्छ । अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि
गडबडी हुन्छ ।
- आजभोलि धेरै जस्तो युवतीमा
पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडीको समस्या हुने गरेको छ ।
पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ । पोलिसिस्टिक
भएका महिलाका थुप्रै अन्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन
असन्तुलित हुनेगर्छ । हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ ।
- पोलिसिस्टिक प्रकृतिक समस्या हो ।
तर, अहिले जुन रुपमा देखा परेको छ यो सबै जीवनशैली, वातावरणीय
समस्या, मानसिक तनाव, मानसिक रोगको
औषधि सेवन आदि कारणले गर्दा हो ।
- महिनावारी गडबडी हुँदा डन्डीफोर
आउने, मोटाउने, बच्चा नबस्ने, ढिला
बस्ने, शरीरका विभिन्न भागमा रौं आउने समस्या देखा पर्छन्।
- यो समस्या कसैकसैलाई वंशाणुगत
कारणले पनि हुन सक्छ । कसैलाई पाठेघरको रोग ( फाइब्रोइड-पोलिप), पाठेघरमा पानीको फोक्का र कसैलाई रगत नजम्ने समस्याले पनि गडबडी हुन सक्छ।
- तनाव, भागदौड, मानसिक तनाव, खानपान, धूमपान,
मध्यपान आदिले ‘हर्मोनल इम्ब्यालेसन्स’
हुन्छ र महिनावारीमा गडबड हुन जान्छ ।
- चाडबाडका बेला वा अरु कुनै बेला पनि
महिनावारीलाई पर सार्नुप-यो भन्दै जथभावी खाइने औषधिले पनि महिनावारी गडबडीको
समस्या निम्त्याउँछ।
- गर्भनिरोधक चक्कीले गर्दा पनि यस्तो
समस्या आउन सक्छ । तीन महिने सुइले पनि महिनावारी गडबड हुन सक्छ।
-
|
महिनावारी के हो र गडबडी किन हुन्छ, यसको संक्रमणबाट कसरी बच्ने ? |
सामान्यतः महिनावारी सुरु भएको केही
वर्ष र सुक्न लागेको केही वर्ष महिनावारीको गडबडी हुन सक्छ।
कहिलेकाहीँ महिनावारी भएको १४–१५ दिनमा अलिअलि रगत देखा पर्न सक्छ, यो अवस्था
सामान्य पनि हुन सक्छ । त्यसलाई ‘ओभ्युलेसन ब्लिडिङ’ भनिन्छ।
कसरी बच्ने ?
– महिनावारी गडबड हुन नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ ।
– पोषिलो खानेकुरा खानुपर्छ । प्रदुषित वातावरणबाट जोगिनुपर्छ ।
– नियमित चेकजाच गराउनुपर्छ ।
– आफ्नो शरीरमा कुनै रोग देखियो भने हेलचेक्याइँ नगरी तुरुन्त उपचार
गर्नुपर्छ।
– नियमित व्यायम गर्नुपर्छ ।
– शरीरलाई मोटो हुन दिनु हुँदैन ।
– गर्व निरोधक चक्की खाँदा चिकित्सकसँग सल्लाह गरेर मात्र खानुपर्छ
।
– महिनावारी भनेको नियमित प्रक्रिया हो, त्यसलाई
रोक्न औषधि खानु हुँदैन ।
महिनावारी किशोरी अवस्थामा सुरु
हुन्छ । प्रायः ११ देखि १४ वर्षमा महिनावारी सुरु हुन्छ । प्रथम पटक महिनावारी
भइसकेपछि महिनावारी अनियमित हुन्छ ।
महिनावारी हुने इन्टरभल (समयावधि) ३
देखि ५ हप्ता हो । औसतमा ४ हप्ता वा महिना–महिनामा हुने हुनाले
नै मिन्सुरेन्सलाई महिनावारी भन्ने गरिएको हो । यदि ५ हप्ताभन्दा पनि बढी समयमा
मात्रै महिनावारी भयो भने त्यसलाई ढिलो वा अनियमित भनिन्छ । महिनावारी नियमित र
अनियमित दुबै हुन्छ ।
इन्टरभल त्यति धेरै फरक परेन भने
नियमित भनिन्छ । तर कहिले धेरै छिटो त कहिले धेरै ढिलो अथवा लगातार रक्तश्राव
हुनुलाई अनियमित भनिन्छ । महिनावारी सुरुदेखि बन्द नहुने अवधि प्रजनन् अवधि हो ।
सुरुको महिनावारीलाई रजस्वला (मेनार्की) भनिन्छ भने अन्तिम वा बन्द भएको
महिनावारीलाई रजनोवृत्ति (मेनोपज) भनिन्छ ।
किशोरावस्था, वयष्क र ४० वर्ष उमेर नाघेका महिलामा फरक–फरक कारण
महिनावारी अनियमित हुन्छ ।
महिनावारी भएपछि घटबढ हुन्छ
महिनावारी भइसकेपछि पनि अनियमित
हुन्छ । छिटोढिलो हुनु भनेको मेच्युरिटी नभएर हो । कसै कसैको पहिलो पटक भएर २-४
वर्ष नै हुँदैन, त्यसपछि फेरि हुन्छ । त्यो सामान्य हो,
त्यसले केही असर गर्दैन । तर धेरै वर्षसम्म नै भएन भने पछि बच्चा
नहुने हुन्छ, त्यसैले चिकित्सकलाई देखाउन जरुरी छ ।
महिनावारी घटबढ हुँदा औषधि
खानुहुँदैन । औषधिले झन् समस्या ल्याउँछ, असर गर्छ । औषधि
दिनेलाई सबै कुरा थाहा हुँदैन । औषधि (हर्मन) दिने हो कति मात्रा, कति समय खाने भन्ने थाहा नहुँदा वा तरिका नजानेर पनि महिनावारी घटबढ हुन्छ
। विभिन्न महिलाहरुले श्रीमान विदेश गएपछि परिवार नियोजनको साधन चक्की औषधि सेवन
गर्न छोड्छन्, त्यसले समस्या ल्याउँछ । त्यो छोड्नु हुँदैन,
कण्डम प्रयोग गरे जसरी औषधि पनि यौन सम्बन्ध राख्दा मात्रै
खानुहुँदैन । चिकित्सकले दिएको सुझावअनुसार खानुपर्छ । तर कतिले सुझावअनुसार
गर्दैनन्, त्यसले पछि समस्या ल्याएर फेरि चिकित्सककहाँ
जानुपर्ने बाध्यता हुन्छ ।
किशोरावस्थामा अनियमित हुने कारण
मेच्युरिटी नपुगेर पनि नहुने हुन्छ
। ब्रेनदेखि ओभरीसम्मको कन्ट्रोल गर्ने मेकानिजम मेच्योर नहुञ्जेल महिनावारी
नियमित हुँदैन । त्यसैले पहिलो पटक भएपछिको १-२ वर्ष अनियमित हुने वा महिनावारी नै
नहुने पनि हुन्छ । यो मेच्युरिटी नपुगेर हो ।
वयष्क उमेरमा अनियमित हुने कारण
गर्भसँग सम्बन्धित समस्याहरु जस्तै-
गर्भपतन, सुत्केरी हुने र शालबाट उत्पन्न हुने ट्युमरहरुका कारण हुन्छ । परिवार
नियोजनका साधनहरुको अनियमित प्रयोग तथा तिनिहरुको साइड इफेक्टले पनि अनियमित हुन्छ
।
प्रजनन् तथा यौन अंगको संक्रमण वा
प्रजनन् अंगमा हुने ट्युमर पलाउने जस्ता अवस्थाहरु र कतिपयको अनियमित गराउने
कारणमा राम्रोसँग हर्मोनल औषधि राम्रोसँग सेवन नगरेको कारणले गर्दा पनि अनियमित
हुन्छ ।
४० वर्ष उमेर नाघेका महिलामा
गर्भसँग सम्बन्धित कारणले, हर्मन असन्तुलन हुनाले र क्यान्सर वा ट्युमर पलाउने अवस्थाका कारण
महिनावारी बन्द भइसकेपछि पनि
अनियमित रगत जाने हुन्छ । त्यो महिनावारी होइन, त्यसलाई महिनावारी
भन्दैनन् । योनीमार्गको सतहहरु पातलो भई सानो रक्तकोषिका फुटेर रगत जाने हुन्छ ।
मेडिकल भाषामा यसलाई भजाइनल एट्रोफि भनिन्छ । अर्को पाठेघरको भित्रको सतह पनि
पातलो भई रगत जाने हुन्छ, यसलाई एट्रोफिक इन्डोमेट्राइटिस
भनिन्छ । यसले पनि रक्तश्राव हुन्छ । पाठेघर वा पाठेघरको मुखको क्यान्सर वा प्रि
क्यान्सर हुँदा पनि रगत जान सक्छ ।
जटिलताहरु
रक्तअल्पता वा एनिमिया हुने, व्यक्तिगत तथा सामाजिक अस्वस्थता, यौन जीवनमा समस्या,
बाँझोपनको समस्या र यौनाङ्ग क्यान्सरको समस्या यदि शल्यक्रिया गर्नुपर्ने अवस्था
आयो भने त्यसपछिका समस्या झन् थपिँदै जटिलताहरु आउँछन् । समयमा नै उपचार नभए
मृत्यु समेत हुन सक्छ ।
बच्ने उपाय
अनियमितता भएपछि सम्बन्धित
विशेषज्ञसँग नै परिक्षण गराउने, समयमा नै र उचित रुपमा औषधि
सेवन गर्ने, क्यान्सर स्क्रिनिङ टेस्ट गर्ने र प्रिक्यान्सर
स्टेजमा नै रोग पत्ता लाग्दै उपचार गर्न सके क्यान्सर हुनबाट बचाउन सकिन्छ ।
खानेकुरा
रक्तअल्पतालाई कम गर्न नियमित रुपमा आइरन, फोलिक
एसिडलगायतका भिटामिन तथा लवणहरु चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्छ ।
भिटामिन तथा पोषणयुक्त खानेकुरा खानुपर्छ ।